म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

  
म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निर्माणधिन अवस्थामा रहेको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ। २५ मेगावाट क्षमताको आयोजनाको कमेरेमा अडिट नम्बर १ कोसुरूङ खन्न सुरू गरिएको हो। नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको आयोजनाले जनाएको छ।

आयोजनका साइट ईन्जिनियर बालकुमार रोकाका अनुसार  २ सय ५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध र पावर हाउस दुबैतर्फ सुरुङ निर्माण सुरु हुने बताए। ‘अब इल्पुमा रहेको बाँध र तल्लो दुखुको आउटलेटबाट पनि सुरुङ खन्ने तयारी भइरहेको छ’ रोकाले भने। आइतबारदेखि सुरू भएको सुरुङ निर्माणको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले सुरुवात गरेका थिए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु, वडाअध्यक्ष सन्तोष सुबेदी, टंकप्रसाद पुन र रेशम जुग्जाली, आयोजनाका सञ्चालक चित्र पुन र अमित गौचन लगायत प्राविधिक टोलीको उपस्थिीति रहेको थियो।  

जलविद्युत आयोजनाका अध्यक्ष विनोद कुँवरले टनेल निर्माणको कामलाई तीव्र गतिमा अगाडी बढाउने बताए। ‘टनेलमा उत्साहजनक प्रगतिसहित समयमै आयोजनाको काम सम्पन्न गर्नेछौ,‘प्रभावित क्षेत्रका बासिन्दालाई लगानीका लागि समेत अवसर छ’ अध्यक्ष कुँवरले भने। उनले अर्को महिनाबाट सुरुङ खन्ने काम राति र दिउँसो गरि दुई सिफ्टमा हुने समेत बताए। 

म्याग्दी खोलाबाट विद्युत निकाल्न प्रवासी म्याग्देली र स्थानीयहरुको लगानीमा धौलागिरि कालिका हाइड्रो लिमिटेढले आयोजना निर्माण गर्न लागेको हो।मालिका गाउँपालिका–७ बिम र वडा नं ५ देविस्थान र धौलागिरि गाउँपालिका–७ को सिमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ।  

सुरुङमार्ग हुँदै ल्याईने पानीलाई १ सय मिटर हेडबाट रातोढुंगामा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिने छ। ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तिय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ। आयोजना निर्माणमा ५ अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनाका प्रवन्ध निर्देशक ईन्जिनियर हर्कमान घर्ति मगरले जानकारी दिए। 

आयोजनाबाट उत्पादन हुने विद्युत बिमको सवस्टेशन मार्फत केन्द्रीय प्रशारणमा जोडीनेछ। हिउँदको चार महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायामको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरण सँग विद्युत खरिदबिक्री हुने सम्झौता भएको छ। आयोजनाको साईट कार्यालय, आवासगृहसहितका भौतिम संरचना समेत तयार भइसकेको छ भने पहिलो, दोस्रो कोराना भाइरसकाका कारण निर्माणकार्यमा समस्या भएपनि अहिले जनशक्तीको ब्यवस्थापन भएकाले तीव्र गतिमा अगाडी बढेको छ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय