लक्ष्मण घिमिरे ।
अर्घाखाँची । जिल्लाको एक मात्र सरकारी अस्पताल अर्घाखाँची अस्पतालको वृहत्तर विकासको क्रम अँगाडी बढेको छ ।
बिगत ३१ वर्षदेखी कामचलाउ र रेफर सेन्टरको रुपमा काम गरेको अस्पतालले केही रौनक थपेको देखिन्छ । १५ शैयाको अस्पताल ५० शैयामा स्तरोन्नती समेत भएको छ । अस्पताल ५० शैयामा स्तरोन्नती भएपछी सुविधा सम्पन्न भवन र सेवाहरु थप विस्तार हुँदैछन् । गत असौज २ गते लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले अर्घाखाँची अस्पताल सहित यो प्रदेशका ६ वटा असपताललाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । साथै अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय भएको थियो ।
अर्घाखाँची अस्पताल स्तरोन्नती हुने भएपछी प्रदेश सरकारबाट बजेट समेत विनियोजन भएको छ । आईसियु, भेन्टिलेटर सहित सुविधायुक्त भवन, स्तरिय प्रयोगशाला, विशेषज्ञ चिकित्सक लगायतका सेवा हरु थप हुनेछन् । ‘हामीले धेरै प्रयास गरेपछी यसलाई स्तरोन्नती गर्न सफल भएका हौं, प्रदेश सांसद रामजीप्रसाद घिमिरेले भने,‘अस्पतालले पनी राम्रो गरेको छ, छिटै परिणाम देखिने छ ।’
डेढ दर्जन प्रमुखहरु नाम मात्रका
२०४५ सालमा स्थापना भएको जिल्लाको एक मात्र १५ शैयाको सरकारी अस्पतालमा झन्डै डेढ दर्जन डाक्टरहरु प्रमुख बनेर आए । अर्घाखाँचीका जनताले शायदै स्व. डाक्टर चित्रप्रसाद शर्मा वाग्ले बाहेक अरु कसैको नाम सम्झना गर्छन् होला । आँटिलो र अनुभवी डाक्टरको रुपमा परिचित स्व. डाक्टर वाग्ले हुँदा अस्पतालले राम्रै गती लिएको जानकारहरु बताउँछन् । तिन कार्यकाल अर्घाखाँची अस्पतालको सेवा गरेका डा. वाग्लले अस्पताललाई विश्वसनिय र भरपर्दो बनाएका थिए ।
२०५९ जेठदेखी २०६० जेठसम्म पहिलो कार्यकाल, २०६० जेठदेखी २०६५ भदौसम्म दोस्रो कार्यकाल र २०६७ बैसाखदेखी २०६९ जेठसम्म तेस्रो कार्यकाल गर्दै गरेका डा. वाग्ले आफै क्यान्सर रोगबाट पिडित भए । २०६९ मै उनको देहावसन भयो । उनीपछी पनी आधा दर्जन प्रमुख अस्पतालले पायो । अधिकांश डाक्टर निजी क्लिनिकमै मस्त हुँदा अस्पतालको स्तरोन्नती ओझेलमै रह्यो । उनीहरु मध्ये कतीपयले प्रयास नगरेका पनी होईनन् । तर राजनितिक हस्तक्षेप, पहुँचको अभाव र सरोकारवालाहरुको बेवास्ताका कारण उनीहरु सफल हुन सकेनन् ।
युवा डाक्टरको चाहानामा माननियहरुको पहल
‘तँ आँट, म पु¥याउँछु’ भन्ने कथन छ । खाने मुखलाई जुङ्गाले छेक्दैन भनेझैं गर्ने आँट र अठोट हुने हो भने सकिदों रैछ भन्ने गतिलो उदाहरण बनेका छन् हाल निमित्त अस्पताल प्रमुखको जिम्मेवारीमा रहेका डा. कपिल गौतम । निवर्तमान अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीको सरुवा पश्चात निमित्तको जिम्मेवारी सम्हालेका डा.गौतमले अस्पतालको समग्र विकासलाई अँगाडी बढाएको प्रष्ट देख्न सकिन्छ । अस्पतालको भौतिक संरचनादेखी सेवाहरु समेत उनी आएपछी थपिएका छन् ।
२०७४ जेठदेखी २०७५ असारसम्म अर्घाखाँची अस्पतालमा डाक्टरको रुपमा कार्यरत गौतम त्यसपछी गुल्मी सरुवा भएका थिए । २०७६ को पुष २३ गते अर्घाखाँची अस्पतालमा निमित्त प्रमुखको जिम्मेवारी लिएका डा. गौतम अस्पताललाई स्तरिय बनाउन प्रयासरत देखिन्छन् । उनकै कार्यकालमा अस्पताल ५० शैयामा स्तरोन्नती भयो । यसअँघी १५ शैयाको अस्पताल रहेपनी बिरामीको चापलाई मध्यनजर गरेर ४० बेड राखेर अस्पतालले सेवा दिंदै आएको छ । अत्याधुनिक उपकरण र औजारहरु भएपनी अस्पतालको १५ शैयाको मात्र मान्यता भएकाले आवश्यक जनशक्ती नहुँदा चाहेजती सेवा दिन सकेको थिएन ।
डा. गौतमले अस्पताल स्थापना भएको ३१ बर्षपछि गत ०७६ फाल्गुन २८ देखी चौबिसै घण्टा ल्याब र एक्सरे सेवा सुरु गरे । जिल्लावासीको मागलाई सम्बोधन गर्दै सर्वसाधारणले जिल्ला अस्पतालमै स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले चौबिसै घन्टे ल्याब र एक्सरे सेवा विस्तार गरे । अस्पतालले भिडियो एक्सरे, इसिजी, फार्मेसी, आकस्मिक लगायतका सेवा चौबिसै घन्टा लागु गरेको डा.गौतमले जानकारी दिए । यस कार्यमा प्रतिनिधीसभा र प्रदेश सांसदहरुले भरपुर सहयोग गरेको उनले बताए । ‘एकल व्यक्तीको ईच्छाशक्तीले मात्र संभव हुँदैन,डा. गौतमले भने,‘सबै माननिय हरु, सबै जिल्लावासी, अस्पतालका सबै कर्मचारीको साथ र सहयोगले यो सम्भव भएको हो ।’
सेवा विस्तारसंगै कर्मचारी थप
१६ जना स्थायी र केही करारका कर्मचारीले अस्पताल धानेका थिए । १५ शैयाको मात्र स्विकृत दरबन्दी हुँदा बिरामीको चापलाई थेग्न मुश्किल परेको थियो । कर्मचारी नियुक्तीमा विवाद हुने, भनसुनका आधारमा राख्न दवाव आउने गरेपछी यसभन्दा अँघीका प्रमुखहरुले कर्मचारी नियुक्त गरेर विवादमा आउन चाहाँदैनथे । जनशक्तीको अभावले सेवा प्रभावित भएको देखेपछी हाल अस्पतालले ११ जना कर्मचारी नियुक्त गरेको छ ।
विशेषज्ञ डाक्टरहरुदेखी ल्याब टेक्निसियन समेतका कर्मचारी अविवादित रुपमा हालसालै नियुक्त गरेको डा. गौतमले बताएका छन् । ‘लोकसेवा परिक्षा प्रणलीबाट परिक्षा लियौं, उनले भने,‘निर्विवादित रुपमा ११ जना कर्मचारी नियुक्त भएका छन् ।’
तत्काल अस्पतालले थप गरेका नयाँ सेवा
गुणस्तर सेवा र स्वास्थ्य बिमाले बिरामीको चाप बढ्दो
सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेपछी जिल्ला अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । अस्पतालको गुणस्तर सेवा र बिमा कार्यक्रमले गर्दा अस्पतालमा दैनिक दुईसय देखी २ सय तिस जना बिरामी आउने गरेको जिल्ला अस्पताल अर्घाखाँचीको रेकर्डमा देखिन्छ । अस्पतालले सुरक्षित गर्भपतन सेवा, भिडियो एक्सरे, डिजिटल एक्सरे, ल्याब, अनलाईन रजिष्ट्रेशन काउन्टर, सामाजिक सेवा ईकाई, चौबिसै घन्टे ल्याब र एक्सरे सेवा, इमरजेन्सी सेवा लगायतका सेवा प्रदान गर्दै आएको छ ।
असपतालको व्यवस्थापन चुस्त दुरुस्त राख्न सिसी क्यामेरा जडान, ईन्टरकम, सफ्टवेयर मार्फत ओपिडी टिकट काट्ने व्यवस्था र सबै खाले आर्थिक गतिविधी कम्प्युटर मार्फत गर्न थालिएको प्रमुख गौतमले जानकारी दिए । दन्तसेवा लगायत फिजियोथेरापीका नयाँ सेवाहरु सुचारु भईसकेको पनी अस्पतालले जनाएको छ ।
चित्र डाक्टर पछीका आशलाग्दा युवा डाक्टर
धेरै वर्षदेखी कामचलाउ र रेफर सेन्टरका रुपमा परिचित जिल्लाको सरकारी अस्पतालमा एकाएक परिवर्तनका अथाहा किरणहरु देखापर्न थालेका छन् । अस्पताल राम्रो होला, गुणस्तरिय सेवा पाईएला, बाहिरी जिल्ला जान पाईएला भनेर जिल्लावासीले आश मारिसकेको अवस्थामा डाक्टर कपिल सबैको आशाको केन्द्रमा छन् । २०६९ सालमा क्यान्सर रोगबाट बिरामी भएपछी स्वर्गिय डा. चित्रप्रसाद शर्मा वाग्ले उपचारका लागी हिंडे । त्यसै वर्ष उनको क्यान्सरकै कारण मृत्यु भयो । चित्र डाक्टरसंगै जिल्लावासीका इच्छा पनी मर्दै गए । अस्पतालको भौतिक संरचनामा उनले उती ध्यान दिएनन् । तर, उनको उपचार पद्धती र विद्दत्वमा सबैलाई भरोसा थियो ।
धेरै वर्षपछी अहिले डा. कपिल गौतमलाई नागरिकले त्यही रुपमा हेरिरहेका छन् । उनी आएपछी अस्पतालमा केही उदाहरणिय काम भएको र अस्पतालको स्तरोन्नतीले जनतामा आशा पलाएको छ । ‘डा. गौतमले राम्रो काम गरेका छन्, पुर्व अस्पताल विकास समितीका अध्यक्ष रामबहादुर चौहानले भने,‘युवा छन् र केही गर्ने ईच्छाशक्ती देखाएका छन् । उनलाई अवरोध गर्नु हुँदैन ।’
उनी अस्पतालमा निमित्त प्रमुखको जिम्मेवारीमा छन् । अन्य प्रमुखहरुले जस्तै उनीपनी आलटाल गर्ने, निजि क्लिनिकमै धाउने गर्न सक्थे । तर युवा विचार र परिवर्तनकारी सोंचले उनलाई यसै बस्न दिएन । र केही छनकहरु जिल्लावासीले देख्ने र अनुभुत गर्ने मौका पाए । उनको पालामा केही जोखिमका निर्णय र कार्यहरु पनी भएका छन् ।
जिल्लामा ब्लडबैंक छैन । त्यस्को स्थापना गर्ने प्रयास नभएका पनी होईनन् । तर, हाल सम्म त्यो सम्भव हुन सकेको छैन । यसका बावजुत अस्पतालमै सुत्केरी गराउन पहलकदमी गरेको पाईन्छ । आर्थिक वर्ष २०७४/०७५ मा जम्मा ५ जना गर्भवतीको शल्यक्रिया भए । आर्थिक वर्ष २०७५/०७६ मा १७ जना गर्भवतीको शल्यक्रिया भयो । गत आर्थिक वर्ष २०७६/०७७ मा डा. गौतम लगायत टिमले ६८ जना गर्भवतीको सफल शलयक्रिया गरेको तथ्याङ्क छ । ‘ब्लडबैंक स्थापना हुन सकेन, डाक्टर सन्तोष न्यौपानेले भने,‘जोखिम मोलेर शल्यक्रिया गर्नु पर्ने बाध्यता छ ।’ यद्दपी जिल्लामै शल्यक्रिया भएपछी जिल्लावासी खुशी छन् ।
डा. गौतम लगायत अस्पतालका बोल्ड र साहसिक निर्णय
कोरोना महामारीमा पनी निरन्तर सेवा
कोरोना महामारीले त्रास सृजना ग¥यो । संक्रमण सर्ने डरले अधिकांस निजी असपताल र क्लिनिकहरुले सेवा बन्द गरे । यद्दपी सरकारी अस्पतालमा निरन्तर सेवा दिन सरकारले परिपत्रनै गरेको थियो । सरकारी अस्पताल बन्द गर्ने कुनै प्रावधान थिएन । सुरक्षाका साधनहरुको अपर्याप्तता, जोखिम, डर र अधिकांश डाक्टरहरु संक्रमित हुँदापनी निरन्तर अस्पतालले सेवा प्रदान गर्यो ।
१७ जना डाक्टर र स्वास्थ्यकर्मी एकैपटक संक्रमित हुँदा बाहेक अस्पतालले निरन्तर सेवा प्रदान गर्दै आएको छ । प्रसूति र अत्यावश्यक सेवा भने अहिलेसम्म रोकिएको छैन । १७ जनालाई एकैपटक संक्रमण पुष्टी हुँदा डा. गौतमलाई पनी संक्रमण देखिएको थियो । कार्तिक २२ गते उनलाई कोरोना पुष्टी भएको थियो ।
डा. गौतमको संदेशः कोरोनालाई सहज नलिऔं........
कोरोनाको समयमा करिब ७–८ महिना काम गर्दै गर्दा म कोरोनाबाट संक्रमित भएँ । कोरोना संक्रमणको सूरुको अवस्थामा मलाई ज्वरो आउने, ज्यान दुख्ने, खाएका कुनै पनी कुराको स्वाद थाहा नहुने, गंध थाहा नहुने त्यसैगरी रिंगटा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने यस्तो समस्या देखा परे । र मलाई पखला पनी लाग्यो ।
यस्ता समस्या देखिएपछी मैले संका लागेर पिसिआर चेक गराएँ । म सजग चाँही थिएँ । पिसिआर रिर्पोट पोजेटिभ आएपछी म होम आईसोलेसनमा बसें । बिचको समयमा मलाई धेरै गाह्रो गरायो । अक्सिजननै लगाउनु पर्ने अवस्था आयो । चिकित्सकहरुको सल्लाहामै मैले अक्सिजन लगाएँ । धेरै गाह्रो हुँदाहुँदै मलाई चिकित्सकको सल्लाहा र धेरै तिरबाट सहयोग आएपछी बिस्तारै निको हुँदै गयो । कोरोना संक्रमणकालको अवस्थामा मैले धेरै किसिमका औषधीहरु .खाएँ । आयुर्वेदिक औषधी, भिटामिन सी, कागती–पानी, ज्वानो–पानी खाएँ । केही अन्य औषधी डेक्सा मिथासोन भन्ने औषधी मैले प्रयोग गरें । रेम्डीसिमिर भन्ने औषधी प्रयोग गर्नु परेन । त्यो औषधी प्रयोग गर्ने बिचारमा थिएँ । पछी त्यो खाईन ।
हामीले झोलिलो पदार्थहरु दालको रस, माछामासुको रस, गेडागुडीहरु यस्तै लिक्विड चिजहरु चाहीँ धेरै खानु पर्ने रहेछ, मैलेपनी त्यसैगरी सेवन गरें । त्यसपछी बिस्तारै बिस्तारै निको हुँदै गएँ । आत्मबल पनी चाहिंदो रहेछ । यो कोरानाको अवस्थामा हामी सबै सजग हुनु जरुरी छ । यस्लाई त्यती सजिलोगरी नलिऔं । किनभन्दा यही कोरोनाले गर्दा कती जनाको ज्यान गईसेकेको छ । वृद्धवृद्धा र युवाहरु सबैलाई यसले असर पुगाएको देखिन्छ । लापरवाहीले अकल्पनिय दुखद घटनाहरु सुन्न नपरोस् । स्वास्थ्यका सबै मापदण्ड अपनाएर मात्र सबैले आआफ्नो काम गर्नुपर्छ । पछी पछुताउनु भन्दा बेलैमा सबै सचेत हुनुपर्ने छ ।
प्रतिकृया दिनुहोस